हाम्रो बारेमा

कार्यालयको ईतिहास :

कार्यालयको परिचय, पृष्ठभूमि, दृष्टिकोण, लक्ष्य तथा उद्देश्य

१. कार्यालयको परिचय तथा पृष्ठभूमि

धरान–धनकुटा राजमार्ग निर्माणका क्रममा बेलायत सरकारको सहयोगमा सञ्चालित परियोजना सम्पन्न भएपछि उक्त परियोजनाअन्तर्गत प्रयोगमा रहेका धनकुटा जिल्ला, साविक बुढीमोरङ गाउँ विकास समिति वडा नं. ८ स्थित आवासीय भवन तथा जग्गा वि.सं. २०४० सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। त्यसपश्चात सोही भवनबाट जिल्ला सडक कार्यालय, धनकुटाको नियमित कार्य सञ्चालन प्रारम्भ भएको र यस कार्यालयको प्रारम्भिक स्वरूप सोही समयदेखि स्थापित भएको अभिलेखबाट देखिन्छ।

आर्थिक वर्ष २०५०/५१ मा जिल्ला सडक कार्यालयको नाम परिवर्तन गरी पूर्वाञ्चल डिभिजन सडक कार्यालय नं. ४ कायम गरिएको थियो।

कार्यालय सञ्चालन भइरहेका बेला मिति २०६०/१२/२३ गते राति करिब ८:३० बजे अज्ञात सशस्त्र समूहद्वारा आगजनी तथा विस्फोट गराइँदा कार्यालयका तीनवटा भवन पूर्ण रूपमा ध्वस्त भएका थिए। उक्त घटनापश्चात कार्यालयले धनकुटा नगरपालिकाभित्रका विभिन्न स्थानमा घर भाडामा लिई आफ्नो नियमित प्रशासनिक तथा प्राविधिक कार्य सञ्चालन गर्दै आएको अभिलेखबाट देखिन्छ।

आर्थिक वर्ष २०६६/६७ मा धनकुटा नगरपालिका वडा नं. ४, देब्रेवासस्थित तत्कालीन नगर विकास समिति, धनकुटाको नाममा रहेको करिब १४ रोपनी क्षेत्रफलको जग्गा यस कार्यालयको स्वामित्वमा ल्याइएको थियो। त्यसपछि आर्थिक वर्ष २०६७/६८ मा कन्टिन्जेन्सी रकमबाट एकतले कार्यालय भवन निर्माण गरिएको र आर्थिक वर्ष २०७१/७२ मा सोही भवनमा थप एक तला निर्माण गरी हालसम्म कार्यालयको नियमित प्रशासनिक तथा प्राविधिक कार्य सञ्चालन हुँदै आएको छ।

तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय नं. ४ ले धनकुटा, तेह्रथुम, भोजपुर तथा संखुवासभा गरी चार जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई सडक निर्माण, स्तरोन्नति तथा मर्मत–सम्भारका कार्यहरू सञ्चालन गर्दै आएको थियो। वि.सं. २०७१ साल श्रावणदेखि कार्यालयको नाम परिवर्तन भई डिभिजन सडक कार्यालय, धनकुटा कायम भएको तथा सोही समयदेखि संगठनात्मक पुनर्संरचनाअनुसार कार्यालयको कार्यक्षेत्र सीमित भई हाल धनकुटा र तेह्रथुम जिल्ला मात्र यस कार्यालयको कार्यक्षेत्र रहेको छ।

२. दृष्टिकोण (Vision)

धनकुटा र तेह्रथुम जिल्लामा सुरक्षित, गुणस्तरीय, दिगो तथा वातावरणमैत्री सडक पूर्वाधारको विकास गरी सबै नागरिकलाई सर्वकालीन, सहज र भरपर्दो सडक पहुँच उपलब्ध गराउँदै आर्थिक, सामाजिक, कृषि तथा पर्यटन क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने।

३. लक्ष्य (Goal)

कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग तथा सहायक सडकहरूको योजनाबद्ध निर्माण, स्तरोन्नति, संरक्षण तथा नियमित मर्मत–सम्भारमार्फत सुरक्षित, भरपर्दो र दिगो सडक सञ्जालको विकास गर्नु।

४. उद्देश्य (Objectives)

  • धनकुटा र तेह्रथुम जिल्लामा सडक पूर्वाधारको विकास तथा विस्तार गर्नु।
  • विद्यमान सडक, पुल तथा अन्य सडक संरचनाहरूको नियमित तथा आवधिक मर्मत–सम्भार गरी वर्षभरि सुरक्षित र सहज यातायात सञ्चालन सुनिश्चित गर्नु।
  • सडक पहुँचबाट वञ्चित बस्ती तथा क्षेत्रहरूलाई क्रमशः सडक सञ्जालसँग जोड्दै स्थानीय जनजीवनलाई सहज, सरल र सुरक्षित बनाउनु।
  • राष्ट्रिय राजमार्ग तथा सहायक सडकहरूको निर्माण, स्तरोन्नति तथा संरक्षणमार्फत यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनु।
  • कृषि, पर्यटन, व्यापार तथा अन्य आर्थिक गतिविधिको विकासमा टेवा पुग्ने सडक पूर्वाधारको विकासलाई प्राथमिकता दिनु।
  • सडक सम्पत्तिको प्रभावकारी व्यवस्थापन, संरक्षण तथा दिगो उपयोग सुनिश्चित गर्नु।
  • सडक निर्माण तथा मर्मत कार्यमा गुणस्तर, पारदर्शिता, वातावरणीय संरक्षण तथा सडक सुरक्षाका मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गर्नु।

कार्यालयसँग सम्बन्धित शाखाहरु :

सि.न.

शाखा हरु

कार्य विवरण

प्राबिधिक शाखा

सम्पूर्ण योजनाहरुको कार्यान्वयन निरिक्षन्, सुपरिवेक्षण

प्रशासन शाखा

सम्पूर्ण प्रशासनिक ,स्टोर व्यवस्थापन,सम्वन्धि कार्य र ठेका बन्दोबस्ती को लागी आवस्यक प्राबिधिक कार्यमा सहयोग

आर्थिक प्रशासन

सम्पूर्ण आर्थिक प्रशासनिक कार्यहरु