हाम्रो बारेमा
महाभारत श्रृंखला भन्दा माथि मध्य पहाडका २६ जिल्लाहरु तथा २१५ वस्तीहरुलाई जोड्ने गरी रेखाङ्कन भएको यस राजमार्गले करिब ५० लाख जनताहरुलाई प्रत्यक्ष यातायात सुविधा पुर्याउने देखिन्छ। यसबाट हुने सुविधाका कारण उक्त क्षेत्रको आर्थिक-सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाईसराई निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुनेछ। यस राजमार्गको रेखाङ्कनभित्र पर्ने विभिन्न जिल्लाहरुमा नेपाल सरकारका १० वटा आधुनिक शहरहरु विकास गर्ने लक्ष्य समेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधीमा वृद्धि भई रोजगारीका थप अवसरहरु सृजना हुने र सर्वसाधरण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। यस राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलहरु समेत यातायात पूर्वाधारको अभावमा यथेष्ट प्रचार प्रसार एवं विकास हुन नसकेको परिप्रेक्षमा राजमार्गको निर्माण संगै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुनेछ। राजमार्ग निर्माण सम्पन्न भएपछि विद्यमान आर्थिक सामाजिक सुचकहरुको उल्लेख्य रुपमा परिवर्तन हुने संकेत देखिएको हुँदा यो राजमार्ग एउटा रुपान्तकारी योजना हुनसक्ने अपेक्षाका साथ नेपाल सरकारले आ.व.२०६९।०७० देखि यो आयोजनालाई “राष्ट्रिय गौरवको आयोजना” घोषणा गरी उच्च प्राथमिकतामा राखेको छ । आयोजना सम्पन्न भई सम्पूर्ण सडक खण्डहरु कालोपत्रे स्तरमा पुगेपछि र प्रस्तावित सबै पुलहरुको निर्माण कार्य सम्पन्न भई सकेपछि मध्यपहाडी क्षेत्र हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै निर्वाध रुपमा यातायात संचालनमा आउने छ । तत्पश्चात यो सडक नेपालको सडक यातायात क्षेत्रमा मेरुदण्डको रुपमा स्थापित भई विकासका सबै संभावनाहरुको ढोका खोल्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
सडक सञ्जालको विकासलाई आत्मसात गर्दै, नेपालको मध्य पहाडी भुभागका जिल्लाहरुलाई यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको सन्तुलित विकास गर्ने अभिप्रायले तराईका जिल्लाहरु समेटेर निर्माण गरिएको पूर्व पश्चिम राजमार्ग जस्तै पहाडी क्षेत्रको पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङ्ग (नेपाल भारत सिमाना) देखि पश्चिममा बैतडी जिल्लाको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीब १८७९ कि.मि. लम्बाईको वैकल्पिक राजमार्ग निर्माण गर्ने उद्देश्यका साथ नेपाल सरकारको आन्तरिक श्रोतवाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी आ.व. २०६४/०६५ देखि मध्य पहाडी राजमार्ग आयोजना संचालनमा रहेको छ।
- राजमार्गको रेखाङ्कन
प्रारम्भ बिन्दु: पाँचथर जिल्लाको पुर्वी भेगमा पर्ने चियोभन्ज्याङ्ग, (नेपाल भारत सिमा) बाट शुरु भई बैतडी जिल्लाको झुलाघाट (नेपाल–भारत सिमा) सम्म पुग्ने गरी नेपाल सरकारबाट स्वीकृत रेखाङ्कन निम्न उल्लिखित स्थानहरु हुंदै निर्माण गरिने निर्णय भएको छ।