हाम्राे बारेमा

परिचय

कान्ती राजमार्ग सडकको निर्माण त्रिभुवन राजपथको विकल्पको रूपमा वि.सं. २०१३ सालदेखि प्रारम्भ भएको हो। यस क्रममा वि.सं. २०१३ देखि २०१६ सालसम्म नेपाली सेनाद्वारा यस सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरिएको थियो। हेटौंडालाई काठमाडौं उपत्यकासँग जोड्ने उद्देश्यका साथ विकास गरिएको यो सडक छोटो, भरपर्दो तथा उपयुक्त वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यस सडक खण्डले व्यापारिक नाका वीरगञ्जलाई पूर्व-पश्चिम राजमार्गसँग समेत जोड्ने भएकाले यसको निर्माण सम्पन्न भएपछि काठमाडौंबाट हेटौंडा करिब ३ घण्टामा आवत–जावत गर्न सकिनेछ। यसबाट वीरगञ्ज नाकामार्फत नेपाल र भारतबीचको व्यापार, वस्तु तथा सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय बासिन्दाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभ प्राप्त गर्ने र क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

यस सडकले वीरगञ्ज नाका हुँदै राजधानी काठमाडौं प्रवेश गर्ने पर्यटकहरूको आवागमनलाई समेत सहज बनाउने भएकाले यसको पर्यटकीय महत्व उच्च रहने देखिन्छ। यसबाट क्षेत्रीय रूपमा उपलब्ध स्रोत तथा साधनहरूको अधिकतम उपयोग हुन सक्नेछ। बागमती प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा शैक्षिक लगायत समग्र क्षेत्रको सन्तुलित विकासमा यस सडकले महत्वपूर्ण योगदान पुर्‍याई क्षेत्रीय विकासमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

वि.सं. २०६४/०६५ मा कान्ती राजमार्ग सडक योजनाको कार्यालय स्थापना भई नेपाल सरकारले यस आयोजनालाई प्राथमिकतामा राखी निर्माण कार्यलाई थप व्यवस्थित तथा तीव्र बनाएको हो। हाल यस योजनाको निर्माण कार्यक्षेत्र मकवानपुर जिल्लाको हेटौंडास्थित बुद्धचोकदेखि ठिंगन हुँदै ललितपुर जिल्लाको टिक्काभैरवसम्म करिब ७९ किलोमिटर रहेको छ। उक्त क्षेत्रमा ठेक्का प्रणालीमार्फत विभिन्न चेनेजहरूमा सडक मर्मतसम्भार तथा निर्माण कार्य सञ्चालन भइरहेको छ। यस योजनाको सम्पूर्ण कार्यहरू आर्थिक वर्ष २०८३/०८४ भित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।